काठमाडौं : भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको पाँच दिनमै चर्चामा आएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा टिकटकमा एक लाखभन्दा बढी भिडियो बनिसकेको निर्माण पक्षले जनाएको छ।
अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा अर्जुनकै संगीत तथा हुकलाइन र सन्तोष सापकोटाको शब्द रहेको छ। गाउँघरको उत्सव र रमाइलो माहोल प्रस्तुत गरिएको गीतको भिडियोमा चलचित्रका कलाकारसँगै अर्जुन सापकोटा, पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्का देखिएका छन्। यसको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन्।
गीतको लोकप्रियताले सिनेमाप्रति दर्शकको चासो बढाएको निर्देशक बिक्की अगरवालले बताएका छन्। निर्माण टिम केही दिनमै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारीमा छ।

श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको सिनेमामा दीया मास्के, शिशिर वाङ्देल, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, मनोज गजुरेल, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। सिनेमा भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


















