Sur Cinema

विजय–पूजाको ‘रत्यौली’ सुरु, पशुपतिमा पूजा गर्दै थालियो छायांकन

काठमाडौं : अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने सिनेमा ‘रत्यौली’को छायांकन सुरु भएको छ । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको सिनेमाको छायांकन मंगलबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै शुभारम्भ गरिएको हो ।

छायांकनको सुरुवाती दुई दिन काठमाडौंमा सिनेमाका दृश्य खिचिनेछ । त्यसपछि निर्माण टोली दोलखाको जिरी प्रस्थान गर्नेछ । निर्माणपक्षका अनुसार जिरीमा करिब एक महिनासम्म सिनेमाको छायांकन हुनेछ ।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको सिनेमामा विजय बराल र पूजा शर्मासँगै लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ ।

पूजा शर्माको प्रस्तुतिमा तयार भइरहेको ‘रत्यौली’का निर्माता सुरज आचार्य हुन् । सिनेमामा हरि हुमागाँई र उत्तम हुमागाँईले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने सुनिल निउरे मुख्य सहायक निर्देशकका रूपमा छन् । दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको सिनेमामा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ ।

नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई कथाको मुख्य केन्द्रमा राखिएको सिनेमाले मौलिक नेपाली परिवेश र सामाजिक सम्बन्धका विभिन्न आयामलाई पर्दामा प्रस्तुत गर्ने निर्माणपक्षले जनाएको छ ।

सिनेमाको प्रदर्शन मिति पनि घोषणा भइसकेको छ । निर्माणपक्षका अनुसार ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि हलमा प्रदर्शन हुनेछ ।