Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रङ्गेली’को उत्साहजनक व्यापार, दर्शकबाट पाए तारिफ

काठमाडौं : रिलिजको दोस्रो दिन पनि सिनेमा ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए ।

बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि दिउसोका प्रायः शोमा हाउसफुल दर्शक रहेको शाहीले बताए । शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी देखिएकोमा शनिवार पनि सोही अनुपात कायम रहेको वितरकको भनाई छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो सिनेमामा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।

आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन परेको प्रतिक्रिया दर्शकले दिएका छन् । यस प्रकारका सिनेमाहरू नेपालमा बन्न जरुरी रहेको र त्यो ‘रङ्गेली’मा पाएको दर्शकले बताएका छन् ।

शनिवार काठमाडौंको बिग मुभिजमा प्रमुख अभिनेता अर्पण थापा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए । सो क्रममा सिनेमाको पात्र ‘भगवान् दादा’को रूपमा आफूलाई रुचाइएकोमा उनी प्रसन्न देखिए । उनले आफूले जहिले पनि सिनेमाको अन्तर्यमा पुगेर अभिनय गर्न चाहने जिकिर गरे । सिनेमाका निर्देशक अर्जुन सुवेदीले सिनेमाको ‘सेकेन्ड हाफ’को ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराएको प्रतिक्रिया पाएको बताए ।

यस्तै, शनिवार ‘रङ्गेली’ हेर्न पुगेका वरिष्ठ अभिनेता सरोज खनाल, अभिनेत्री केकी अधिकारी, अभिनेता प्रमोद अग्रहरी, निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाले ‘रङ्गेली’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।