काठमाडौं : अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने सिनेमा ‘उपहार’मा आफ्नै नामको चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि अभिनय गरेका सिनेमामा भन्दा फरक “पूजा” चरित्रमा देख्नेछन् ।
‘सिनेमामा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि एक युवतिले कस्तो सम्म काम गर्छिन भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछे । अहिलेका टिनएजमा रहेका किसोर-किसोरी माझ भइरहेको घटनालाई म मार्फत सिनेमामा देखाईदै छ’, पूजा भन्छिन् ।

पूजाको अनुभवमा अहिलेको समयमा विशेषत युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्नेमा छ । ‘उपहारमा पूजाले पनि जस्तो सुकै काम गरेर भए पनि पैसा कमाउनु पर्यो भन्ने सोच राख्छे । तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ’, आफ्नो सिने भुमिका बारे पूजा खुल्छिन् ।
पूजाका अनुसार उनीबाहेक धेरै अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरिएको थियो । तर अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन् । अन्ततः त्यो चरित्र निभाउने जिम्मा पूजाकै काँधमा आइलाग्यो । ‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले ‘यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै गर्ने फाइनल भयो’, पूजाले भनिन् ।

पूजाका अनुभवमा मान्छेहरु सिनेमामा अभिनय गर्दा मात्रै पनि आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन् । त्यसकारण पनि अन्य अभिनेत्रीहरुले ‘पूजा’ चरित्रलाई अस्वीकार गरे ।
‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनु पर्छ । यो मेरो लागि नयाँ अवसर हो भन्ने लाग्यो । मैले चरित्रमा जोखिम नै मोलेको हो’,पूजा भन्छिन्, ‘तर मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई यो चरित्र निभाउन अझ सहज भयो । किनकी उहाँ मेरा लागि अभिभावक मात्रै नभएर पहिलादेखि नै सहकार्य गरिरहनुभएको को एक्टर हुनुहुन्छ ।’

हरेक सिनेमामा सकारात्मक भूमिकामा मात्र देखिने पूजा आफैंलाई पनि नकारात्मक चरित्र मनपर्दैन । ‘यो चरित्र निभाइरहँदा कस्तो नराम्रो देखिँदो रहेछ भन्ने पनि भयो । तर कलाकारले जस्तो पनि क्यारेक्टर निभाउनुपर्छ ।” उनी थप्छिन,”अहिले पुरुषका लागि बोलिदिने कोही छैनन् । तर नारीका लागि मिडियाहरु यति सहयोगी भइदिए कि उनीहरु मिडियामा खुलेर आफ्नो कुरा राख्न सक्छन्।” सबैले छोडेको चरित्र भएकाले पनि पूजाका लागि ‘पूजा’ चरित्र उत्तिकै चुनौतिपूर्ण पनि बनेको छ । तर उनी यसलाई अवसरको रुपमा प्रमाणित गर्न लागेकी छन् ।

के पूजा चरित्र झै मानिस समाजमा छन् त ? भन्दै गर्दा पूजा भन्छीन,”यस्तो चरित्र भएको मान्छे समाजमा धेरै देखेको छु । उनीहरुलाई यस्तो काम नगर भनेर सल्लाह पनि दिने गरेकी छु’ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।















