काठमाडौं : अर्पण थापा अभिनित सिनेमालाई नियाल्दा उनी हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्न सकिन्छ । भन्नलाई सोचिरहन जरुरी छैन । उनलाई विशेषतः खलनायक चरित्रमा दर्शकले मन पराइरहेका छन् ।
अर्पण यही फागुन २५ गते रिलिज हुने नेपाली सिनेमा ‘रङ्गेली’मा ‘भगवान् दादा’ नामक ‘ल ब्रेकर’ ग्याङ्स्टर चरित्रमा देखिँदै छन् । रङ्गेलीको भूमिकाबारे चर्चा गर्दै थापा भन्छन्, “भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा राखेको हुन्छ । प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ । मान्छेमा धेरै पावर भइसकेपछि पावरको लेभल बढ्दै जाने हो । त्यसको मात्रा बढ्दै गएपछि राजनीतिक कुरालाई पनि जोड्ने हो । मैले काम गरिरहँदा मलाई प्रशासनले र आफूले गरिरहेको कामले गाह्रो बनाउने अवस्था आउँछ । म रङ्गेलीको मुख्य प्रोटागोनिस्ट हुँ”, उनले भने ।
उने थप्छन,”यस्तै क्यारेक्टर मलाई मन पर्छ । किनभने यसमा अलिक बढी भेरिएसन दिन पाइन्छ । लुक्स र गेटअपले गर्दा मलाई दर्शकले युरोपियन लुक्स जस्तै देखिएको भन्छन् । तर यो चलचित्रमा भने मलाई दर्शकले टिपिकल लोकल लुक्समा देख्नुहुन्छ ।”, अर्पण भन्छन् ।
अर्पणले चलचित्रको तयारी गर्दा धेरै पटक लुक टेस्ट गर्नु परेको थियो । कुन किसिमको पहिरन लगाउने भन्ने विषयमा घनघोर छलफल पनि भएको थियो । “”रङ्गेली तिरका मान्छेले दैनिक रूपमा धोती लगाइरहेका हुन्छन् । धोतीलाई अलिकति पैसा भएका मान्छेले मात्र लगाउने लुगा लगाइने भन्ने हुँदो रहेछ,” उनले अनुभव सुनाए । अर्पणकै भनाइमा तराईतिरको बसाइमा उनी त्यति भिजेका होइनन् । उनले आफूले स्क्रिप्ट अनुसार आफूलाई तयार पारेका थिए तर, सेटमा पुगेपछि भने केही अदलबदल भयो ।
अर्पणले रङ्गेली हेर्दा दर्शक आफ्नो चरित्रमा ‘कनेक्ट’ हुने भन्दा पनि आफ्नो चरित्रको प्रभावमा ‘कनेक्ट’ हुने बताउँछन् । “म चाहिँ भाँडो अथवा गाडी जस्तो भएँ । जसमार्फत दर्शकलाई तलको परिवेश, बसाई, भोगाई, त्यहाँ लगिदिन्छु । म चाहिँ एउटा आधार हो”, अर्पण भन्छन् ।
उनी ‘रङ्गेली’ लाई विधा अनुसारको सिनेमा मान्छन् । “सिनेमामा एउटा विधा भन्छौँ, तर त्यसको खिचाई, परिवेश फरक पर्दा पर्दै सिनेमा सकिन्छ । तर रङ्गेलीमा चाहिँ मिठो कुरा के छ भने विधा अनुसार नै कथा बगेको छ । विधा र ठाउँ अनुसारको लुक चाहिने भएकाले त्यही नै एडप्ट गरिएको छ । सिनेमाका साना–साना चरित्र पनि कथा सुहाउँदो र विश्वासिला बनेका छन्”, उनी भन्छन् ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।















