काठमाडौं : प्रिमियरको झुटो वाहवाहीलाई नजरन्दाज गर्ने हो भने सिनेमा ‘चित्रा’मा कसैको कामको प्रसंसा भएको थियो भने उनी थिए प्रमोद अग्रहरी । पुरै सिनेमा हेर्न लायक नबन्दा पनि आफ्नो चरित्र लाई जिवित बनाउने कलाकारमा पर्छन प्रमोद । ‘चित्रा’ एक उदाहरण मात्रै हो उनले अभिनय गरेका अधिकांश सिनेमाको सत्यता यही नै हो ।
‘उमा’को विनित होस चाहे ‘सुन्तली’को बजरङ, ‘छक्का पन्जा’को बाबा मस्तमोला देखि ग्याङस्टार ब्लुजको अफ्जल ‘कथा काठमाडौं’को सौरम र ‘जाईरा’को राजा पनि उनले आफुलाई अब्बल कलाकारको रुपमा स्थापित गर्न सफल चरित्रहरु हुन् । सिनेमाको सफलता र असफलतालाई एक कलाकारले एक्लै काधमा बोकेर हिड्न सक्दैन । तर आफ्नो चरित्रलाई न्याय गर्न कुरामा प्रमोद अलिकती पनि चुकेका छैनन् ।
यही फागुन १८ बाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा “द अन्ब्रेकेबल अगस्त्य च्याप्टर वान” का लागि उनले त्यतिकै मेहनत गरे । त्यसैले हुन पर्छ टिजर र ट्रेलर मै उनको डाइलग र प्रस्तुतीलाई दर्शकले मन पराएका थिए । ट्रेलरको ‘म आज् स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ धेरै दर्शकको मनमा बस्न सफल छ । साथै सिनेमामा उनले आफ्नो चरित्रलाई न्याय गरेको प्रिमियरमा उपस्थितले बताएका छन । उनको अभिनयको तारिफ भए पनि सम्पादनको काममा ध्यान नदिदा दर्शक दिक्क हुन सक्छन ।
सिनेमालाई लिएर नाजिर हुसेन र सौगात मल्लको लुक्स देखि रोल सम्मको चर्चा हुँदै गर्दा प्रमोद केही छाँयामा परेका हुन कि भन्ने लाग्छ । तर सदा झै उनी आफ्नो काममा इमान्दार छन् । र यो इमानदारिताको लागि दर्शकले प्रसंसा गर्ने पक्कापक्की नै छ ।
कोभिडको कारण र ब्यक्तिगत कारण केही वर्ष काम नगरेका अग्रहरीको ब्यस्तता अहिले बढेको छ । अगस्त्य हलमा लाग्दै गर्दा उनी ‘पिताम्बर’को छायांकन ब्यस्त छन् । त्यस्तै ‘रक्तबिज’को लागि उनी अनुबन्धित भैसकेका छन् । ‘रावायण’ सिनेमामा पनि लिड परिवर्तन गरेर चैतबाट फ्लोरमा जाने चर्चा चलिरहेको छ । त्यस्तै एक अन्टाइटल सिनेमामा पनि उनी अनुबन्धित भैसकेका छन् । यसरी हेर्दा केही वर्षको खालिपना उनी एकै बर्षमा काम गरेर रिकभर गर्ने योजनामा छन् । तर यसरी काम गर्दा चरित्रलाई कतिको न्याय दिन सकिन्छ भन्ने बारे पनि उनले सोच्न जरुरी छ ।















