Sur Cinema

निर्माता तथा कलाकार बानियाँ भन्छन्-‘विज्ञापन दिन लायक मिडिया बनाउनुस’

हेटौंडा : कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँले सिनेमाको विज्ञापन दिन लायक मिडिया बनाउन सिने पत्रकारहरुलाई सुझाव दिएका छन्। चलचित्र पत्रकार संघ नेपालले हेटौंडामा आयोजना गरेको राष्ट्रिय भेलाको दोस्रो दिन बानियाँले विशेष संवादमा बोल्दै सो सुझाव दिएका हुन्।

पछिल्लो समय सिने न्यूजपोर्टलहरुमा मिहेनत गर्ने बानी हटेको र न्युज कपी पेष्ट गर्ने प्रचलन बढेको पनि बानियाँले धारणा राखे। दोस्रो दिनको विशेष संवाद अन्तर्गत ‘मिडिया प्रमोसन र कर्पोरेट लगानी’ विषयमा बोल्दै बानियाँले भने , ‘अब रिलिज हुने तयारीमा रहेको हाम्रो सिनेमा महाजात्राको प्रमोसनमा हामी लेख्नेलाई मात्र विज्ञापन दिने सोचेका छौँ। कपी गर्नेलाई किन विज्ञापन दिने ? बरु ३ गुणा दिन्छौं तर लेख्नेलाई दिन्छौं। विज्ञापन दिएन भनेर सिनेमा निर्मातालाई गुनासो गर्नुभन्दा पनि विज्ञापन दिन लायक बनाउनुस।’

साथै, पहिलेको भन्दा आगामी चैत्र ९ गतेदेखि रिलिज हुन लागेको सिनेमा ‘महाजात्रा’को प्रमोसन चाहिँ अलि फरक तरिकाले गर्ने योजना रहेको बानियाँले बताए। झन्डै ७० लाख बढी बजेट ‘महाजात्रा’को प्रमोसनको लागि छुट्याएको पनि उनले उद्घोष गरे।

बानियाँका अलावा विशेष संवादको लागि कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्देशक तथा अभिनेता आकाश अधिकारी र नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल रहेका थिए। संवादको सहजीकरण भने अशोक प्यारी राईले गरेका थिए।