काठमाडौं : दिनेश राउतको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पुजार सार्की’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। आइतबार निर्माण टिमले फर्स्टलुक पोस्टर रिलिज गरेको हो।
पोस्टरमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई प्रस्तुत गरिएको छ। जहाँ आर्यन र पल खुशी चेहरामा देखिएका छन् भने प्रदीपलाई चाहिँ रिसाएको देख्न सकिन्छ। तिनैजनाको शिरमा टोपी छ। आर्यन र पलको टोपी टक्क मिलेको छ भने प्रदीपको अलि मिलेको देखिँदैन। यसबाट प्रदीप सिनेमामा अलि विद्रोह स्वभावको भुमिकामा छन् कि भन्ने आँकलन गर्न सकिन्छ।
जातीय विभेद विरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथामा आधारित सिनेमा किङ्डम नेटवर्कको ब्यानरमा निर्माण हुँदैछ। विकास सुवेदीको सिनेमामा कथा रहेको छ। सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।
सिनेमाका निर्माता सुभाष भुसाल हुन्। राजेश श्रेष्ठले सिनेमा खिच्दैछन्। अब यो सिनेमा छायांकनमा जाने तयारीमा छ। आर्यन, प्रदीप र पलका अलावा नायिका अन्जना बराइली र परीक्षा लिम्बूको पनि सिनेमामा मुख्य भुमिका रहेको छ।















