काठमाडौं : अभिनेता द्वय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी सिनेमा ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् ।
सिनेमाका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत गायक सपूतसँगको फोटो शेयर गर्दै गीत रेकर्डिङ भएको जनाएका छन् । उनले गीतको शीर्षक भने खुलाएका छैनन् । लोक शैलीमा तयार हुँदै गरेको सो गीतमा हर्क साउदको शब्द रचना, सुबास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको राउतले जानकारी दिएका छन् ।
यस सिनेमामा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् भने दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ सिनेमामा आउँदा यसले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ ।

‘प्रसाद’, ‘क्लासिक’, नोभेम्बर रेन’ लगायतका सफल सिनेमाका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस सिनेमालाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् ।
माघको मध्यबाट छायाङ्कन सुरु हुने यो सिनेमालाई विकास सुवेदीले लेखेका छन् भने सङ्गीतकार सुबास भुसालले निर्माण गर्दैछन् । एक दर्जन सिनेमामा सङ्गीत दिएका भुसालले पहिलो पटक सिनेमा निर्माण गर्न लागेका हुन् ।
भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको सिनेमा ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै सिनेमा ‘सेल्फी किङ्ग’मा समावेश थियो । ‘पूजार सार्की‘ किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

















