Sur Cinema

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो !’ सार्वजनिक

काठमाडौं : माघेसंक्रान्तिको अवसर पारेर सिनेमा ‘महाजात्रा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आहा क्या राम्रो !’ बोल रहेको गीत सिनेमा प्रमोशनका लागि मात्रै तयार गरिएको गीत हो ।

केही समय अगाडि खुल्लामञ्चमा सेट लगाएर छायांकन गरिएको गीतमा सिनेमाका कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् । प्राप्त जानकारी अनुसार अरुण र आश्मा गीतमा मात्र रहेको रहेको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको उक्त गीतमा आशिष कै संगीत रहेको छ ।

सिनेमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृंखलाम ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।

सिनेमामा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् । सिनेमा आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।