Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मेरो छोरी भएकै कारण सिनेमामा लगानी गरेको होइन् : राजाराम बुढाथोकी

काठमाडौं : सिनेमा ‘पर्खी बसेँ तिमिलाई’ बनाउँदै नेपाली सिने क्षेत्रमा नयाँ निर्माता भित्रिएका छन् । उनी हुन् राजाराम बुढाथोकी । उनी आफू मात्र सिने क्षेत्रमा आएका छैनन्, उनले छोरी रक्षा बुढाथोकीलाई समेत साथै ल्याएका छन् ।

उसो त सन्तानको लागि लगानी गरेर सिनेमा निर्माण गर्ने उनी पहिलो ब्यक्ती भने होईनन् । शोभित बस्नेत, भुवन केसी, झरना थापा, शिव श्रेष्ठ करिश्मा मानन्धर लगायतले छोराछोरी माथि लगानी गरेका छन् । ती मध्ये केही सफल बनेका छन् भने केहीको रहरमा मात्र सीमित भएको छन् ।

शनिवार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्माता बुढाथोकीलाई ‘तपाईँले छोरीकै लागि सिनेमामा करोडौ लगानी गर्नुभएको हो ?’ भनेर प्रश्न गर्दा घुमाउरो जवाफ दिदै उनले भने, ‘मैले मेरो छोरी भएकै कारण सिनेमामा लगानी गरेको होइन् । मैले उसको प्रतिभामाथि लगानी गरेको हुँ । मेरो छोरीको अभिनय कलालाई मैले नजिकबाट चिनेको छु । त्यही कारण छोरीले अभिनय गर्न सक्छिन् भनेर नै सिनेमामा भित्र्याएको हुँ, लगानी गरेको हुँ ।’

उसो त यसमा रक्षाले पनि आफ्ना बाबाको बचाउ गर्दै भनिन्, ‘उहाँले मेरो रहर देखेर लगानी गर्नुभएको होइन । मेरो प्रतिभालाई उहाँले देख्नुभएको छ । छोरीका लागि लगानी गरेको भनेर बाहिरी हल्ला भन्दा तपाईहरु बाटै सुनिरहेको छु । तर उहाँले मेरो प्रतिभाको सम्मान गर्न लगानी गर्नुभएको हो ।’

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको सिनेमामा प्रमुख अभिनेता र अभिनेत्री दुवै नयाँ छन् । रक्षासँगै किरण श्रेष्ठले पनि यसै सिनेमाबाट डेब्यू गर्दैछन् । रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको सिनेमामा नव कलाकार रक्षा र किरणका अलावा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन रहेको सिनेमामा रामजी लामिछाने र निशा रसाइलीको नृत्य छ । सिनेमा पुस २७ गतेबाट रिलिज हुदैछ ।