काठमाडौं : यतिबेला नायक पल शाहलाई देखेर फ्यानहरु बेहोस भएको खबर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। कतिले झुठो भनेका छन् त कतिपयले साँचो। वास्तविकता बुझ्दा चाहिँ फ्यानहरु बेहोस भएको खबर सत्य रहेको खुलेको छ। तर बेहोस चाहिँ पललाई देखेर नभई भिडमा च्याप्पिएर अक्सिजनको अभावले भएको खुल्नमा आएको छ।
मंगलबार लम्की सांगीतिक महोत्सवका सचिवालय सदस्य सचिव युवराज न्यौपानेले एक मिडियामा कुराकानी गर्दै पललाई देखेर युवती बेहोस भएको खबर झुठो रहेको बताएका हुन्।
न्यौपानेका अनुसार पल महोत्सव प्राङ्गणमा प्रवेश गरेपछि भिड अनियन्त्रित भइ च्याप्पिएर बेहोस भइ लडेका थिए। महोत्सवको व्यवस्थापन टिमले बेहोस भएका युवतीहरूलाई एम्बुलेन्स बोलाएर अस्पताल लगेर होसमा आएपछि सकुशल घर पठाएको बताइएको छ।

पललाई देखेर युवतीहरु बेहोस भएको खबर झुठो र अफवाह मात्रै रहेको पनि न्यौपानेले बताए।लम्कीमा जारी महोत्सवमा सहभागी हुन पल सोमबार लम्की पुगेका थिए। पललाई हेर्न आउने दर्शकको संख्या महोत्सव स्थलमा अत्याधिक थियो। त्यसो त, पललाई सडकमै फ्यानहरुले घेरेका थिए। जुन भिडियो क्लिप्स सामाजिक संजालमा निकै भाइरल छन्।
जब पल स्टेज उक्लिए तब फ्यानहरुले हुटिङ र तालीले स्वागत गरेका थिए। पलको पछिल्लो समय मेला महोत्सवमा पलको डिमान्ड निकै बढ्दो छ। पलले यस् अघि धनगढी, नेपालगन्ज र गुलरियामा लाखौं दर्शकबाट वाहवाही पाइसकेका छन्।

















