काठमाडौं : फिडेल देवकोटा निर्देशित सिनेमा ‘द रेड सुटकेस’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । विश्वका विभिन्न प्रतिष्ठित सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको सिनेमा चैत्र ३० मा रिलिज गरिने भएको हो ।
सिनेमामा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको सिनेमालाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको सिनेमाका शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा रहेका छन् ।

सिनेमाले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु सिनेमा निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फर्स्ट फिचर सिनेमाको अवार्ड जिताएको थियो । सिनेमाले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल फिल्म महोत्सवमा पनि बेस्ट डेब्यु फिचर सिनेमाको अवार्ड जितेको हो ।


















