Sur Cinema

रमेशको तारिफले मख्ख आँचल

काठमाडौं : एकताका नेपाली सिनेमा क्षेत्रमा निकै रुचाइएका अभिनेता हुन् रमेश उप्रेती। उनले दर्जनौं सिनेमामा काम गरिसकेका छन्। सिनेमा ‘ऐश्वर्या’ गरेपछि रमेश केही समय ब्याक भए। अन्ततः उनी अब नयाँ सिनेमा मार्फत पुनः दर्शकमाझ प्रस्तुत हुँदैछन्।

सबिन कुमार तोलाङ्गीको डेव्यू निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘राजमहल’ मार्फत मुख्य अभिनेताको रुपमा रमेशले कमब्याक गर्दैछन्। बिहीबार यसै सिनेमाको राजधानीमा घोषणा कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रममा रमेशले अभिनेत्री आँचल शर्माको खुब तारिफ गरे।

सिनेमा ‘झिंगेदाउ’ मार्फत आँचलको अभिनय निकै मन परेको रमेशले बताए। म्युजिक भिडियोमा देखिरहेपनि सिनेमाको काम चाहिँ ‘झिंगेदाउ’बाट नियालेको र अभिनयले आफ्नो मन जितेको भन्दै रमेशले आँचलको तारिफ गरेका थिए। कलाकारको रुपमा आँचलको काम नियालिरहेकोले सुन्दरतासँगै अभिनय पनि राम्रो भएकोले आफूलाई मनपर्ने कुरा रमेशले सुनाएका थिए।

रमेशको छेवैमा बसेर आँचलले सबै तारिफ सुनिरहेकी थिइन्। उसो त आँचलकै अघि रमेशले तारिफ गरेका थिए। रमेशको तारिफले आँचल मख्ख थिइन्। आँचलले पनि रमेश आफूलाई निकै मनपर्ने कलाकार भएको बताइन्।

आँचल पनि ‘राजमहल’मा मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित छिन्। त्यसैले पनि ‘राजमहल’को निर्माण घोषणा कार्यक्रममा निकै आकर्षक बनेर उनी उपस्थित भएकी थिइन्। सिनेमाको स्क्रिप्ट चित्त बुझेकोले आफू खेल्न राजी भएको आँचलले बताइन्।

रमेश, आँचलला अलावा सिनेमामा अभिनेत्रा सलोन बस्नेतको पनि मुख्य भुमिका रहनेछ। सिनेमामा मोडल पवित्रा साँकी ‘मिस पबी’ पनि कलाकारको रुपमा आबद्ध छिन्। पबीको यो डेव्यू सिनेमा हो।