Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

व्यापारको हल्ला गर्न र खुशी साट्न कति हतारो हो निर्माता ज्यू ?

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं : गत शुक्रबारदेखि बहुप्रतिक्षित सिनेमा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आयो। यतिबेला यही सिनेमाले हलमा दर्शक तानिरहेको छ। यो सिनेमालाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ।

कतिपयले सिनेमा सोचेअनुरुप नभएको पनि धारणा दिएका छन् । नाम अनुसार नै अर्थ न बर्थको सिनेमा बनेर नाङिएको भन्दै एकाध प्रतिक्रिया पनि न आएका भने होइनन्। यद्यपि निर्माण टिमले सिनेमा ब्लकबस्टर बनिसकेको घोषणा गरिसकेको छ।

सिनेमा राम्रोसँग हलमा लागेको एक हप्ता पनि भएको छैन। तर निर्माण टिमले सिनेमा सुपरहिट भएको भन्दै खुशी साटिसकेको छ। सफलताको खुशी साट्न भन्दै निर्माण टिमले शनिबार एक कार्यक्रम पनि गर्‍यो। जहाँ निर्माता हिमाल शर्माले खुब हसाए । आफ्नो सिनेमाले रिलिजको पहिलो दिनमा नै लगानी सुरक्षित गरेको भन्दै आफुलाई “एक्ज्याक” डाटा भने थाहा नभएको उनले बताए । पछि उनले ओभर्सिज सेलबाट लगानी उठिसकेको भनिदिए ।

यता निर्देशक दिपेन्द्र लामा पनि उस्तै खुसी देखिए । सिनेमा हेर्न हलसम्म धेरै दर्शक आएकोले आफू निकै खुशी भएको उनको भनाइ थियो। उसो त यो सिनेमा रिलिज नहुँदै लगानी सुरक्षित गरेको हल्ला खुब चलेको थियो। विभिन्न मिडियामा समाचारहरु पनि छापिएका थिए। समाचार खोलेर हेर्दा ओभरसिज सेलका कारण लगानी उठिसकेको बताइएको थियो। अब उता बिदेशमा नेपाली सिनेमा कतिमा किन्छन् त्यो त अधिकांशलाई थाहा भएकै कुरा हो।खैर, लगानी सुरक्षित भयो गज्जब भयो ।

तर उहिले नै लगानी उठाइसकेको सिनेमाले फ़ेरि लगानी उठायो भन्दै निर्माताले के भनेका होलान् ? कि यही ओभर्सिज सेलको पत्ता फ्याकिरहने उनीहरुको चाहना हो ? दर्शकलाई भ्रममा राख्ने अवस्था अहिले छैन । कति शोज मध्य कति फुल छन् र कति खाली जो कोहीले हेर्न सक्ने प्रविधी आईसकेको छ । यस्तोमा लगानी उठ्यो भन्दा आतिएर दर्शक हलमा पुग्ने भन्ने पक्कै हुँदैन ।

यतिबेला फ़ेरि केही मिडियामा समाचार बाहिरिएका छन्। समाचारमा उल्लेख छ कि ‘नाङ्गो गाउँ’को विकेन्ड कलेक्सन १ करोड ६० लाख भयो भनेर। यसरी रिलिज भएको एक हप्ता नहुँदै पैसाको हल्ला फिजाउँन निर्मातालाई कति हतारो हो ?

सिनेमा राम्रोसँग यतिबेला हलमा चलिरहेको छ। अझै राम्रोसँग केही हप्ता चलोस्, अझै दर्शकको साथ पाओस्, व्यापार पनि राम्रो गरोस् । अनि पो मज्जा आउला नि सिनेमाको सफलताको खुशी साट्न र व्यापारको डाटा सार्वजनिक गर्न। होइन र निर्माता ज्यू ?

तुलनात्मक रुपमा हेर्दा सोही दिन लागेको ‘एक भगवत र एक गीता’ भन्दा ‘नाङ्गो गाउँ’को व्यापार राम्रै छ । साथै सिनेमा पनि राम्रै बनेको छ । दिपेन्द्रले निर्देशनको सिनेमाबाट दर्शकले अझ केही अपेक्षा पनि पक्कै गर्ने गरेकै हुन्छन् । लगानी उठ्यो भन्दै रमाउनु भन्दा सिनेमा बलियो बनाउनतिर लागे अझ राम्रो हुनेथियो की ?