Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘गणपति’ चाहिँ भगवानप्रति लक्षित छ : रामप्रसाद रिजाल

काठमाडौं : सिनेमा ‘गणपति’ भोलि बिहीबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। राम प्रसाद रिजालको प्रस्तुति रहेको सिनेमाले बक्स अफिसमा राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ। यता रामप्रसाद भने सिनेमालाई लिएर निकै उत्साहित छन्।

उनको प्रस्तुतिमा यस् अघि रिलिज भएका सिनेमाहरुले खासै राम्रो व्यापार नगरेको कुरा त अवगत नै छ। तथापि रामप्रसाद भने सिनेमाको व्यापारलाई भाग्यको खेल ठान्छन्। ‘सबै सिनेमा सोचेको जस्तो हुन्छ भन्ने छैन’, उनले सुरसिनेमासँगको कुराकानीमा भने, ‘सिनेमाको व्यापार भनेकै भाग्यकै खेल हो।अर्को कुरा सिनेमालाई कसरी बनाउने ? कस्तो बनिरहेको छ ? यी सबै कुरा बस्तुस्थिती कसरी परिचालित भइरहेका छन् भन्ने कुरामा भर पर्छ।’

पहिलेका सिनमाहरु नचले पनि अबका सिनेमा चल्नेमा आशावादी रहेको उनी बताउँछन्। निरन्तर कर्म गर्दै जाँदा एकदिन अवश्य सफलता मिल्नेमा उनी ढुक्क छन्। त्यसैले पनि सिनेमा नचल्दैमा न आत्तिने आफ्नो बानी रहेको बताउँछन्।

सिनेमा नचल्दा आफूलाई मात्र नोक्सान हुने तर बाँकी अन्य सिनेमासँग सम्बन्धित प्राविधिकको लागि चाहिँ फाइदा पुग्ने उनको तर्क छ। आफूले निरन्तर सिनेमा निर्माण गरिरहँदा प्राविधिकहरुको घरमा चुलो बलेकोमा आफूलाई त्यसैमा सन्तुष्टि मिल्ने उनले बताए।

अघिल्ला असफलताहरुलाई ‘गणपति’ले चोख्याउनेमा उनी ढुक्क छन्। किनकी यो सिनेमाबाट रिलिज अगाडि नै नाफामा गएको उनले बताए। उनले भने, ‘गणपतिबाट म यति आसाबादी छु, भगवानप्रति दर्शकप्रति र सिनेमाप्रति यो तिनैप्रति म एकदमै आसाबादी छु । यो पालि चोख्याउछ भन्ने अन्तर आत्माको एउटा ध्वनि हुन्छ नि चोखिन्छु भन्ने विश्वास छ।’

साथै उनले ‘गणपति’ भगवानप्रति लक्षित रहेको बताएका छन्। आफू भगवान भक्त रहेको उल्लेख गर्दै ‘गणपति’को नाम नै भगवान रहेकोले सबैले साथ छोडेपनि भगवानले साथ नछोड्ने उनको भनाइ छ।

सिनेमामा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे, राजाराम पौडेल, देबेन्द्र बब्लु लगायतका कलाकारहरुको अभिनय रहेको छ। नायिका वर्षा शिवाकोटी अतिथि भुमिकामा रहेकी छिन्।

सिनेमालाई लक्ष्मण रिजालले निर्माण गरेका हुन्। रिजाल एन्ड रिजाल प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमालाई सबिन अधिकारीले निर्देशन गरेका हुन्। सबिनकै सिनेमामा लेखन रहेको छ।