काठमाडौं : नेपालको पहिलो मल्टिप्लेक्स बिग मुभिज अत्याधुनिक प्रविधि र सुविधासहित नयाँ स्वरूपमा सञ्चालनमा आएको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले हलको व्यापक रिनोभेसन गर्दै अन्तर्राष्ट्रियस्तरको सिनेमा अनुभव दिने सुविधा थपेको हो ।
रिनोभेसनपछि बिग मुभिजमा ४के आरजीबी लेजर प्रोजेक्टर, ६४ च्यानलको डल्बी एटमस साउन्ड सिस्टम तथा लक्जरी र रिक्लाइनर सिट जडान गरिएको छ । त्यस्तै, नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङले हलको वातावरणसमेत परिवर्तन गरिएको छ ।
हलमा २५५ वटा प्रिमियम थिएटर कुर्सी र २९ वटा लक्जरी रिक्लाइनर राखिएको छ । नयाँ प्रविधि र सुविधाले दर्शकलाई उत्कृष्ट दृश्य, ध्वनि र आरामदायी वातावरणसहित फरक सिनेमा अनुभव दिने विश्वास कम्पनीको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले आफ्नो ऐतिहासिक पहिचान कायम राख्दै प्रविधि र सुविधामा नयाँ स्तर स्थापित गर्ने उद्देश्यले रिनोभेसन गरिएको बताए ।


















