Sur Cinema

प्रेम र बिछोडको पीडा बोकेर आए थानेश्वर गौतम

काठमाडौं : चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ। सुफी शैलीमा तयार गीत जननी नेपालको प्रस्तुतिमा गौतमकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

केदारप्रसाद खतिवडाको शब्द रहेको गीतमा प्रेम, वाचा र अकस्मात् आइपरेको बिछोडको पीडा समेटिएको छ। देउरालीमा फूल चढाएर जीवनभर सँगै रहने कसम खाएका प्रेमीको सपना टुट्दाको भावनालाई गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा एक युवकले प्रेमिका गुमाएपछिका सम्झना र पीडालाई कथात्मक शैलीमा देखाइएको छ। गम्भीर रोगका कारण प्रेमिकालाई गुमाएको युवक सांगीतिक कार्यक्रममा गीत सुन्दै विगतमा फर्किन्छन्। भिडियोमा सुरेश कोहली र सम्पदा अमगाईंले अभिनय गरेका छन् भने गौतम स्वयं मञ्चमा गीत गाउँदै देखिएका छन्।

विशाल घिमिरेको कथा तथा निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन र अमृत चापागाईंको सम्पादन छ। गीतमा नारायण डंगालको संगीत संयोजन तथा खडक बजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ।