काठमाडौं : नेपाली सिनेमा, वृत्तचित्र, लघुचलचित्र र वेब सिरिजलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यसहित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सदस्यता शुल्कमा आधारित यस प्लेटफर्ममा दर्शकले एउटै सदस्यताबाट विभिन्न विधाका नेपाली सामग्री हेर्न सक्नेछन्। मेरोस्ट्रिमले बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन योजना सार्वजनिक गरेको छ। यसको मासिक शुल्क क्रमशः २९९, ३९९ र ५९९ रुपैयाँ निर्धारण गरिएको छ।
तीनवटै योजनामा विज्ञापनमुक्त सामग्री हेर्न मिल्नेछ। प्रिमियम योजनामा भने चयनित सामग्री 4K गुणस्तरमा हेर्न सकिनेछ भने एकैपटक चारवटा डिभाइसमा चलाउन सकिने सुविधा छ।
सुरुवाती चरणमा प्लेटफर्ममा सिनेमा ‘कुमारी’ र ‘कथापुतली’, लघुचलचित्र ‘आमा’, ‘डल्स हाउस’ र ‘मिसिङ ब्राइड’ तथा ‘मेरो माइक’ र ‘हजुर आमाको कथा’ लगायतका सामग्री उपलब्ध छन्। आगामी दिनमा नयाँ सामग्री थप्दै जाने टिमको योजना छ।
नेपाली सामग्रीलाई एउटै डिजिटल छानामुनि ल्याउँदै स्वदेश तथा विदेशका दर्शकमाझ पुर्याउने लक्ष्य मेरोस्ट्रिमले राखेको छ। यसले नेपाली सिनेमा तथा स्वतन्त्र सिर्जनाकर्मीका लागि डिजिटल बजार र आम्दानीको नयाँ सम्भावनासमेत खोल्ने अपेक्षा गरिएको छ।


















