Sur Cinema

हरिवंशको वरिपरि घुम्यो ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर

काठमाडौं : सिनेमा ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा अभिनेता हरिवंश आचार्य केन्द्रमा छन् ।

ट्रेलरमा युधिष्ठिरको भूमिकामा देखिएका हरिवंश आफ्ना चार भाइलाई साथमा लिएर अन्याय, हिंसा र सामाजिक विकृतिविरुद्ध संघर्ष गरिरहेको देखिन्छन् । समस्यामा परेकाहरूको उद्धारदेखि सभ्य समाज निर्माणको सन्देशसम्म ट्रेलरले समेटेको छ । महाभारतका पाँच पाण्डवको विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको ट्रेलरले संकेत गर्छ ।

बसन्त निरौलाको निर्देशनमा बनेको सिनेमामा हरिवंशसँगै महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमालाई सामाजिक ड्रामाका रूपमा निर्माण गरिएको हो ।

काली रानी फिल्मस्को ब्यानरमा निर्मित सिनेमा आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । आरआर फिल्मसले वितरण गर्ने सिनेमामा अर्जुन पोखरेलको संगीत रहेको छ ।