काठमाडौं : कार्तिक २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार सिनेमाको शीर्ष गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।
सिनेमाको नामकै शीर्षक रहेको गीतमा अनमोल केसी, प्रिन्सी खतिवडासँगै निर्देशक तथा अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन् । यसअघि सार्वजनिक प्रचार सामग्रीमा गरिमालाई गोप्य राखिएको थियो । लामो समयदेखि नेपालबाहिर रहँदै आएकी गरिमाका लागि यो कमब्याक सिनेमासमेत हो ।
राम अविरल बिष्टको शब्द रहेको गीतमा एसडी योगी र सानु सुनारको स्वर तथा योगीकै संगीत संयोजन छ । गीतको भिडियोमा नृत्य निर्देशक कविराज गहतराजले कलाकारहरूलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।
जिया केसी र भविष्य खड्का निर्माता रहेको सिनेमामा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ । सिनेमाको सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने कथा तथा पटकथा लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन् ।


















