काठमाडौं : ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘चिरञ्जीवी भवः’को डबिङ सुरु भएको छ । बिहीबारदेखि पोस्ट प्रोडक्सनको काम अघि बढाइएको सिनेमामा अभिनेता हरिवंश आचार्यले आफ्नो संवाद रेकर्ड गराउँदै डबिङको सुरुवात गरेका हुन् ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमाले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गर्नेछ । सिनेमामा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । प्रशंसाले यसै सिनेमाबाट नेपाली सिनेमामा डेब्यु गर्दै छिन् ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को कथा रहेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् । धनकुटा, सुनसरी र काठमाडौंमा छायांकन गरिएको चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । यसको वितरण आरआर फिल्म्सले गर्नेछ ।


















