काठमाडौँ : सिनेमा ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो सफलता हासिल गरेको हो।
गीतले पाँच करोड भ्युज पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा सिनेमाहरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’
खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत छ। प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको आकर्षक प्रस्तुति छ। गीत टिकटक र इन्स्टाग्राम रिल्समा समेत लोकप्रिय छ।
यम थापाको लेखन तथा निर्देशनमा बनेको ‘लालीबजार’ गत वैशाख २५ गते नेपालमा प्रदर्शन भएको थियो। ५१ औँ दिन मनाउन सफल फिल्म हाल ओटीटी प्लेटफर्म डिगोमा उपलब्ध छ। आमा–छोरीको सम्बन्ध र शिक्षाको महत्त्व प्रस्तुत गरिएको सिनेमाले ओटीटीमा पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ।


















