काठमाडौं : ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार लबिम मलमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा, समयसँगै बदलिँदो परिवेश र पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनाम तोप्देनको केमेस्ट्री आकर्षक देखिन्छ ।
मगर समुदायको सांस्कृतिक पहिचान, परम्परा र भावनालाई समेटिएको सिनेमाका यसअघि सार्वजनिक ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत तथा टिजरले दर्शकको ध्यान खिचिसकेका छन् । ट्रेलरले पनि दर्शकको साथ पाउने निर्माण टिमको विश्वास छ ।
निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनेको स्तम्भ हो । यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनात्मक पक्षलाई सिनेमामा प्रस्तुत गरिएको छ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमामा उपासना सिंह ठकुरी, सोनाम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बूलगायतको अभिनय छ । यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । क्याप्टेन विजय लामाको विशेष भूमिका रहेको सिनेमामा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर बालकलाकारका रूपमा छन् ।
सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी छन् । ‘जलाकी’को वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।


















