Sur Cinema

‘पाँच पाण्डव’मा इभाको बोल्ड अवतार, आयो ‘राजा चाहिया छ’

काठमाडौं : आगामी कात्तिक २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर, शशी शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

घरजमका लागि उपयुक्त युवकको खोजीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा इभा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ । उनलाई अभिनेता हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन् ।

बसन्त निरौलाको निर्देशनमा बनेको सिनेमामा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौलालगायत कलाकारको अभिनय छ ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । काली रानी फिल्मस्को ब्यानरमा निर्मित सिनेमालाई आरआर फिल्मसले देशव्यापी वितरण गर्दैछ।