काठमाडौं : चर्चित नेपाली सिनेमा ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायाङ्कन सुरु भएको छ। निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकामा शुभमुहूर्त गर्दै सिनेमाको छायाङ्कन थालेका हुन्।
छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएको निर्देशक चौहानले जानकारी दिएका छन्। स्थानीय लामा गुरुहरूको मन्त्र उच्चारणसहित छायाङ्कन शुभारम्भ गरिएको हो।
आर्टमाण्डुको निर्माणमा बन्ने सिनेमामा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगरलगायत कलाकारको अभिनय रहनेछ। नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन गरिने सिनेमाको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्।
‘ऊनको स्वीटर’का पात्र र भावनात्मक कथालाई नयाँ परिवेशमा विस्तार गर्ने लक्ष्य राखिएको सिनेमाको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।


















