काठमाडौं : आगामी दसैँमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आ बाट आमा २’ ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ। असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने सिनेमा हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ लिनुपर्नेछ।
चन्द्र पन्तको कथा तथा निर्देशनमा बनेको सिनेमामा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठलगायतका कलाकारको अभिनय छ। पारिवारिक प्रेम र आमा–सन्तानको भावनात्मक सम्बन्धमा आधारित सिनेमाले गीत, टिजर र ट्रेलरमार्फत दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ।
सिनेमाको ट्रेलर सार्वजनिक भएको एक दिनमै ३७ लाखभन्दा बढी पटक हेरिएको छ। दसैँ गीत ‘क्या दामी देखिया’ले ६ दिनमा ४३ लाखभन्दा बढी भ्युज पाउँदा ‘अचेल किन कान्छी’ले ६४ लाख भ्युज पार गरिसकेको छ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको सिनेमामा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको सिनेमालाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्दैछ।


















