Sur Cinema

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाममा मञ्चन हुने

काठमाडौं : नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ देखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।

गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा मञ्चन हुने नाटकको परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका छन्।

नाटकमा राणा शासनविरुद्ध गणेशमान सिंहको सङ्घर्ष, भद्रगोल जेलबाट ६ फिट अग्लो पर्खाल नाघेर गरेको साहसिक पलायन, प्रजातन्त्रका लागि गरेको त्याग तथा २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको प्रसङ्गलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।

निर्देशक मल्लका अनुसार नाटक गणेशमान सिंहको जीवनीमा मात्र सीमित नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो। व्यक्तिगत स्वार्थ, पद र सत्ताभन्दा देश र जनताको अधिकारलाई प्राथमिकता दिने गणेशमानको राजनीतिक दर्शनलाई नाटकमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिएको उनले बताए।

नेपाली रङ्गमञ्चमा ४५ वर्षदेखि सक्रिय सर्वनामले सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको छ। ‘वीर गणेशमान’ मार्फत इतिहासको महत्वपूर्ण अध्यायलाई रङ्गमञ्चमा जीवन्त बनाउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्य पुनः स्मरण गराउने लक्ष्य राखिएको छ।