Sur Cinema

‘मायालु’मा आकृति

काठमाडौं : निर्देशक प्रवेश पौडेलको आगामी सिनेमा ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा यसअघि नै कबीर खड्का मुख्य अभिनेताका रूपमा जोडिइसकेका छन्।

पौडेलको निर्देशनमा बन्न लागेको यो तेस्रो फिचर सिनेमा हो। उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए। सुरुमा ‘मेरो अधुरो प्रेम’ नाम घोषणा गरिएको भए पनि हाल ‘मायालु’ नाममा काम अघि बढाइएको हो।

नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी आकृतिको यो दोस्रो सिनेमा हो। उनले यसअघि ‘मुक्तिपुर’मा अभिनय गरेकी छन्, जुन प्रदर्शनमा आउन बाँकी छ।

निर्देशक पौडेलकै कथा र अनिल कुर्मीको पटकथा रहने सिनेमाको छायांकन नेपाल र अस्ट्रेलियामा हुनेछ। अस्ट्रेलियाबाट छायांकन सुरु गर्ने तयारी छ। कलाकारको भिसा प्रक्रियाका कारण निर्धारित समयमा छायांकन हुन नसकेपछि अब दशैंपछि काम सुरु गर्ने तयारी गरिएको निर्देशक पौडेलले बताए।

सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा सुरेन्द्र रावलको लगानीमा बन्ने सिनेमाका सह-निर्माता विवेक पौडेल हुन्। शरद महतोको छायांकन रहने ‘मायालु’मा अनमोल थापाको संगीत रहनेछ। सिनेमाका लागि सहायक अभिनेत्री तथा अन्य कलाकारको छनोट प्रक्रिया जारी छ।