काठमाडौं : हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा सन्तानको सुख र भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र बलिदानसँगै आफ्नै सन्तानबाट पाउने पीडालाई प्रस्तुत गरिएको छ। परिवार, सम्बन्ध र बदलिँदो सामाजिक यथार्थलाई केन्द्रमा राखिएको ट्रेलरले बाबुआमाको योगदान बिर्संदै गएको प्रवृत्तिमाथि प्रश्न उठाएको छ।
सन्तानको खुसीका लागि घरसमेत बेच्न तयार हुने बाबु र अन्ततः आफ्नै सन्तानबाट पाउने चोटपछि उसले लिने कठोर निर्णयलाई ट्रेलरमा देखाइएको छ। सिनेमाको क्लाइमेक्सलाई भने रहस्यमा राखिएको छ।
‘बा : एक योद्धा’ भदौ १९ गते प्रदर्शनमा आउँदैछ। सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
संगीतकार तथा गीतकारका रूपमा परिचित हरि लम्सालको यो पहिलो फिचर सिनेमा निर्देशन हो।


















