काठमाडौं : आगामी असोज २ गते प्रदर्शनमा आउने सिनेमा ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। प्रमोद खरेल र मनिषा सुनार को स्वर, डा. कृष्णहरि बराल को शब्द तथा अर्जुन पोखरेल को संगीत रहेको यो गीतले आमाको त्याग, माया र वृद्धाश्रमको यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
गीतको भिडियोमा अतिथि कलाकारका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिएका छन् भने आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह लगायतका कलाकारको अभिनय समेटिएको छ।
ज्ञानेन्द्र देउजा निर्देशित सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, सरोज खनाल, कुशल बिष्ट लगायत कलाकारको अभिनय रहेको छ। तीन वर्षअघि सफल भएको ‘झिंगेदाउ’ को सिक्वेलका रूपमा निर्माण भएको यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट ले नेपालभर वितरण गर्दैछ।















