काठमाडौं : आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ। तीन मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षा, वैवाहिक जीवन, सामाजिक सोच र पारिवारिक संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
ट्रेलरमा अटिजमबाट प्रभावित युवकसँग विवाह गरेकी एक युवतीले पढाइलाई निरन्तरता दिन गरेको संघर्ष, परम्परागत सोचसँगको द्वन्द्व र परिवारभित्रका चुनौतीलाई देखाइएको छ। ग्रामीण परिवेश र सामाजिक यथार्थलाई मार्मिक ढंगले चित्रण गरिएको ट्रेलरमा कलाकारहरूको अभिनय पनि प्रभावशाली देखिन्छ।
डा. कपिल रिजाल निर्देशित चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधरलगायतका कलाकारको अभिनय रहेको छ। सिनेमा डा. भोला रिजालको कथामा आधारित हो। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको सिनेमालाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।















