काठमाडौं : चलचित्र विकास बोर्डले विभिन्न विधाका १२२ जना चलचित्रकर्मीलाई आधिकारिक परिचयपत्र वितरण गरेको छ। बोर्ड परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष दिनेश डीसीले सर्जकहरूलाई परिचयपत्र हस्तान्तरण गरेका हुन्।
पहिलो चरणमा मानार्थ, विशेष, विशिष्ट र चलचित्रकर्मी गरी चार श्रेणीमा परिचयपत्र वितरण गरिएको बोर्डले जनाएको छ। मानार्थ श्रेणीमा वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार निरुता सिंह र नृत्य निर्देशक कमल राई सम्मानित भएका छन्। विशेष श्रेणीमा निर्देशक मिलन चामलिङ राईलाई परिचयपत्र प्रदान गरिएको छ।
बोर्डले परिचयपत्रलाई चलचित्रकर्मीको आधिकारिक पहिचान, अभिलेखीकरण र राज्यसँगको औपचारिक सम्बन्धको आधारका रूपमा लिएको जनाएको छ। कार्यक्रममा अध्यक्ष डीसीले सर्जकहरूको सुझाव र सहकार्यबाट बोर्डलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।















