काठमाडौं : फागुन २९ गते प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लालिमा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। दोस्रो पोस्टरमा शीर्ष नायिका रोशनी कार्की एकल रूपमा फिचर्ड छिन्।
निर्देशक तथा लेखक रोशन मिराज का अनुसार पहिलो पोस्टरले असहायता र रहस्य प्रस्तुत गरेकोमा नयाँ पोस्टरले शक्ति, आत्मविश्वास र परिवर्तनको संकेत गर्छ। पोस्टरमा रोशनीलाई आत्मविश्वासी र शान्त मुद्रामा देखाइएको छ, जसले उनी यौनकर्मीको भूमिकामा रहेको संकेत गर्छ।
सिनेमामा रोशनीसँगै नायक जीवन भट्टराई मुख्य भूमिकामा छन्। साथै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको पनि अभिनय रहेको छ।
तीन हजार यौनकर्मीको अनुभव र संघर्षमा आधारित यो सिनेमा फेथ आस्था को प्रस्तुति हो। कार्यकारी निर्माता रीना लामा हुन् भने नेसनल सिने ग्रुप नेपाल ले वितरण गर्नेछ।















