काठमाडौं : सिनेमा ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गीत गायन तथा अभिनय प्रतियोगिता घोषणा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने एक जना विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर गाएर वा अभिनय गरेर भिडियो तयार गरी माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्नेछ। भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्नुपर्ने निर्माण टिमले जनाएको छ।
उत्कृष्ट अभिनयसहितको भिडियो छानिएपछि माघ १४ गते विजेता घोषणा गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए। आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको सिनेमा ‘आ बाट आमा’ मा विपना थापा, पल शाह, प्रदीप रावतलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यो सिनेमा माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।















