काठमाडौं : निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को छायांकन सुरु गरेका छन्। सोमबार शुभमुहूर्तपछि साढे तीन करोड बजेटमा निर्माण हुन लागेको सिनेमाको छायांकन मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट शुरू भएको हो।
६० दिनको सेड्युलमा अगाडि बढ्ने सिनेमाका लागि पनौतीमा भव्य सेट निर्माण गरिएको छ। त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा छायांकन हुनेछ। सिनेमा अर्को वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य छ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा आर्यन सिग्देल, सरोज खनाल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्टलगायत कलाकारको अभिनय रहनेछ।
कथा निर्देशक देउजाकै अवधारणामा आधारित छ भने पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डि गुरुङको सम्पादन रहनेछ। छायांकन बिष्णु घिमिरे ‘कल्पित’ले गर्ने सिनेमाका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।















