काठमाडौँ : चलचित्र विकास बोर्डले निर्माण गर्न लागिएको चलचित्र सङ्ग्राहलयका लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा हस्तान्तरण गरिएको छ।
सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीलाई प्रदान गरेका हुन्।
अध्यक्ष डिसीले यो क्यामेरा नेपाली चलचित्रको इतिहास संरक्षण अभियानमा महत्वपूर्ण योगदान हुने बताए। उनका अनुसार सङ्ग्राहलयमार्फत पुराना क्यामेरा, उपकरण, पोस्टर, पटकथा, संगीत सामग्री, र पुरस्कारहरू जस्ता ऐतिहासिक सम्पदा सुरक्षित गरिनेछ। रेड एमएक्स क्यामेराबाट ‘मायाज बार’, ‘छ एकान छ’, ‘अझै पनि’ लगायतका चलचित्रहरू छायांकन भएका थिए।
क्यामेरा प्रदान गर्दै बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन योगदान दिन पाउँदा खुसी लागेको बताए। उनका अनुसार सिनेफोकस हाल अत्याधुनिक उपकरण र पोस्ट–प्रोडक्सन सेवामा अग्रणी कम्पनीका रूपमा परिचित छ। कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका समिर बलामी र रघुनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो।















