काठमाडौं : तिहारको भाइटिकाको दिनको अवसर अशोक दर्जी मुख्य भूमिकामा रहेको सिनेमा ‘मन बिनाको धन’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा रुँदै गरेको अशोकको दृश्य देखाइएको छ भने गीतमा शिव परियार र प्रमोद खरेलको स्वर रहेको छ।
टंक बुढाथोकीको लेखन, निर्देशन र निर्माणमा तयार यो सिनेमा कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । हाल निर्माण टिमले देशैभर आक्रामक प्रचारप्रसार गरिरहेको छ।
सिनेमा अशोक दर्जीको जीवनबाट प्रेरित सामाजिक कथामा आधारित छ। उनले सडकमै गीत गाएर चर्चित बनेपछि टंक बुढाथोकीले उनलाई “मन बिनाको धन ठूलो कि धन बिनाको मन” बाट सिनेमामा अभिनयको मौका दिएका हुन्।
सिनेमामा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ लगायत कलाकारको अभिनय छ। सिनेमामा संगीत टंक बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, र सम्पादन मित्र डी. गुरुङको रहेको छ। सिनेमाको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्दैछन्।















