काठमाडौं : भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार सार्वजनिक गरिएको यस गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।
अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको यस गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई झल्काउँछ। यसअघि सार्वजनिक टिजरले प्रकाश र परीक्षाबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई प्रस्तुत गरेको थियो।
सिनेमालाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ। विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्नता रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।
इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीले गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा नै यस सिनेमाको मुख्य आकर्षण हुने बताइएको छ।
‘सोल्टिनी’को छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ। सिनेमालाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। सिनेमा नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।















