काठमाडौं : हाल छायाङ्कनमा रहेको सिनेमा ‘कुमारी’को घोषणा कार्यक्रममा प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ ।
लाइभ भर्सनमै चर्चित बनेको गीतमा हालसम्म डेढ लाखभन्दा धेरै टिकटक बनिसकेको छ भने युट्युबमा पाँच लाख ५० हजारभन्दा बढी भ्युज हासिल गरिसकेको छ। विशेष गरी ‘जेन-जी’ पुस्ताका युवा–युवतीहरूले यस गीतलाई उत्साहपूर्वक टिकटकमा प्रयोग गरिरहेका छन्। सिनेमाको स्टुडियो रेकर्ड भर्सन भने सिनेमा रिलिजसँगै मात्र सार्वजनिक गरिनेछ। यो गीत सिनेमा ‘कुमारी’को प्रमुख गीत मध्ये एक हो।
निर्देशक दिनेश राउतले हालसम्म सिनेमाको ५० प्रतिशत छायाङ्कन सकिएको जानकारी दिएका छन्। उनका अनुसार, गीतको अप्रत्याशित लोकप्रियताले सिनेमाप्रति निर्माण टिमलाई अझै बढी आत्मविश्वासी बनाएको छ।
सिनेमामा अबिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारको पनि अभिनय रहनेछ। सिनेमाको निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरिरहेको छ भने निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसमा सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहेको छ।
सिनेमामा चार वटा गीत रहनेछन्। सबै गीतमा स्वर गायक लिम्बुले नै दिनेछन् भने सङ्गीतमा केहर सिंह लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको योगदान रहनेछ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।
‘कुमारी’ यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले जनाएको छ।















