काठमाडौं : गायक रामकृष्ण ढकालले निर्माणमा हात हालेको नेपाली सिनेमा ‘मालती मंगले’ को शुभ मुहूर्त काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा सम्पन्न भएको छ। स्क्रिप्ट र क्यामेरा पूजापछि सिनेमाको पहिलो क्ल्याप ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए भने पहिलो दृश्यमा विजय बराल र वर्षा राउतले अभिनय गरेका थिए।
निर्माता ढकालले “स्तरीय सिनेमा निर्माण गर्ने प्रतिबद्धता” व्यक्त गर्दै समाजसँग जोडिने भावनात्मक कथा प्रस्तुत गर्ने बताए। कलाकार विजय, वर्षा र मेक्सम गौडेलले पनि यो सिनेमा आफ्नो करियरमा विशेष बन्ने विश्वास व्यक्त गरेका छन्।
प्रकु पाण्डेयद्वारा निर्देशित र गुरागाईँले पटकथा संवाद लेखेको यो सिनेमा पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहनेछ। तनहुँ र स्याङ्जाका रमणीय भूभागमा छायाङ्कन हुने सिनेमामा सुवर्ण थापा, सरिता गिरी, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ।
रानी म्युजिक इन्टरनेशनल र युनी इन्टरटेनमेन्टको सहकार्यमा बन्ने सिनेमाका निर्माता ढकाल हुन् भने सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ छन्। संगीतमा हरी लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागर रहनेछन्।















