Sur Cinema

नेपाली कला क्षेत्रमा महिला पात्रको प्रस्तुतिः यथार्थ र चुनौती

काठमाडौं : पछिल्लो समय प्रदर्शनको तयारीमा रहेको सिनेमा “गुन्यु चोलो” मार्फत अभिनेता नाजिर हुसेनले जीवन्त अभिनय प्रस्तुत गरेका छन् । मन र शरीरबीचको द्वन्द्व, व्यक्त गर्न नसक्ने पीडा, व्यक्त गरेपछि सहनु परेको विभेद र अन्ततः चाहेको जीवन पाउँदा गुमाउन परेको सम्बन्ध—यी सबै कथालाई उनले पर्दामा बोलाएका छन् । छायांकनका क्रममा नाजिरले भोगेका अनुभव सुन्दा श्रोतालाई नै शरीरमा काँडा उत्रिने गरी स्पर्श गर्छ । पुरुष पात्र भएर पनि महिला पात्रलाई लवजदेखि लचकसम्म वास्तविक रूपमा उतार्न खोजेको उनको प्रयासले दर्शकलाई चकित बनाएको छ । यसमा नाजिरको जत्तिकै योगदान निर्देशक समुन्द्र भट्टको कलाप्रति देखिएको गम्भीरतामा पनि स्पष्ट झल्किन्छ ।

विगतको बाध्यता र महिलाको अनुपस्थिति

पुरानो समयमा कला र अभिनयलाई समाजले सकारात्मक रूपमा हेरेको थिएन । छोरीलाई अभिनय वा गायन–नृत्यमा पठाउने अवस्था कल्पना गर्नै नसकिने थियो । त्यसैले नाटक वा सिनेमामा महिला पात्र निर्वाह गर्ने जिम्मा पुरुषमै पर्थ्यो । कुमार बस्नेत, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, हरिवंश आचार्यजस्ता कलाकारहरूले महिलाको भूमिका निर्वाह गरेर दर्शकको मन जितेका थिए । बाध्यताले सुरु भएको यो परम्पराले उनीहरूलाई लोकप्रियता पनि दिलायो ।

यस्तै अनुभवबारे अग्रज कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी, शार्मिला मल्ललगायतले पटक–पटक अन्तर्वार्तामा स्मरण गरेका छन् । शार्मिलाको समयसम्म पनि घरपरिवारले सहजै अभिनय स्वीकृत नगरेकाले आमा वा दाजु छायांकन स्थलसम्म पुग्ने गर्थे । पछिल्लो पुस्ताकी बर्षा सिवाकोटीले समेत सुरुवाती दिनमा आमालाई विश्वास दिलाउनकै लागि छायांकन स्थलमा साथ लगेको अनुभव सुनाएकी छिन् । यसबाट स्पष्ट हुन्छ—महिलाको लागि कला क्षेत्रमा पाइला टेक्नु सधैं सहज यात्रा रहेन ।

कमेडीमा महिला पात्रको स्वरूप

नेपाली कला क्षेत्रमा महिलाको उपस्थिति न्यून छ भन्नु गलत हुन्छ । तर कमेडीमा भने अझै महिला पात्रहरू पुरुषकै अभिनयमार्फत बढी प्रस्तुत भइरहेका छन् । “फुलन्देकी आमा” बनेर चर्चामा आएका उमेश राईलाई आज पनि दर्शकले महिला पात्रकै रूपमा बढी स्वीकार्छन् । उनको अभिनयमा परिपक्वता, आवाज र प्रस्तुतीमा देखिएको इज्जतका कारण उनी वास्तविक महिला झैं देखिन्छन् ।

तर पछिल्ला वर्षमा उमेश राई बन्ने होडमा धेरै कमेडियन महिला पात्र बन्न थालेका छन् । प्रभात लामा, सुमन कार्की, मेक्सम गौडेल, पवन खतिवडा, उत्सव सापकोटा, विश्वास तिम्सिनाजस्ता कमेडियनहरूले विभिन्न कार्यक्रममा महिला बनेर प्रस्तुत हुने गरेका छन् । तर यी प्रस्तुतीमा मेहनतभन्दा भद्दा मजाक बढी देखिन थालेको छ । शरीरमा फलफूल झुण्ड्याएर, लिपस्टिक र नक्कली कपाल मात्र लगाएर महिला पात्र बनाइन्छ । तर लवज, हाउभाउ, आवाज, परिस्थितीप्रतिको अध्ययन अभावमा ती पात्र हलुका र अस्वाभाविक देखिन्छन् ।

भद्दा मजाक र जिम्मेवारीको सवाल

महिला पात्र बनेर गरिएको अभिनयले दर्शकलाई हसाउनुको सट्टा महिलालाई नै “कमेडी” बनाइरहेको छ भन्ने आलोचना बढ्दैछ । सुजाता श्रेष्ठले समेत पुरुष पात्र निर्वाह गरेकी छन् तर उनको प्रस्तुतीमा पनि अपरिपक्वता बढी देखिएको छ ।

यस्तो अवस्थामा परिपक्व कमेडियनहरूले नेतृत्वदायी भूमिका खेल्दै कार्यक्रम सुधारतर्फ ध्यान दिन जरुरी देखिन्छ । भद्दा मजाक र बाहिरी आवरणको भरमा गरिएको अभिनयलाई परिमार्जन गर्दै पात्रलाई वास्तविकता नजिक पुर्‍याउनु उनीहरूको जिम्मेवारी हो ।

नेपाली कला क्षेत्रमा महिला पात्रको उपस्थितिलाई बेवास्ता गर्न सकिँदैन । तर महिला बनेर गरिएको कमेडीमा अहिले जति भद्दा मजाक थपिएको छ, त्यसले दर्शकलाई भन्दा बढी महिलाको अस्तित्वलाई चोट पुर्याइरहेको छ । महिला पात्रलाई सम्मानसहित प्रस्तुत गर्ने हो भने उमेश राईको ‘फुलन्देकी आमा’ जस्तो अध्ययनशील, परिपक्व र वास्तविक प्रस्तुतीलाई आदर्श मान्नुपर्ने आवश्यकता छ । नत्र भने नेपाली कमेडी महिला पात्रकै मजाकमा सीमित हुने खतरा कायमै रहन्छ ।