Sur Cinema

घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै ‘मालती मंगले’

काठमाडौं : गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा मालती मंगले ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। सुरुवाती शो सामान्य रहे पनि शनिबारदेखि दर्शकको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ का कारण देशभरका हलहरूमा दर्शकको चाप उल्लेख्य रूपमा बढेको छ।

शनिबार निर्माता तथा गायक रामकृष्ण ढकाल सहित कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम विभिन्न हलमा पुग्दा दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए।

दर्शकहरूले सिनेमालाई नेपालीपन बोकेको उत्कृष्ट प्रस्तुति भन्दै प्रशंसा गरेका छन्। विशेषगरी वर्षा राउत, विजय बराल र मेक्सम गौडेलको अभिनयले दर्शकको मन जितेको बताइएको छ। निर्देशक प्रकु पाण्डेयको यो सिनेमाले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।