Sur Cinema

‘रिमै’ ट्रेलर : प्रेम र परिवारबीचको द्वन्द्वमा फसेका दयाहाङ

काठमाडौं : निर्देशक खिल बहादुर गुरुङको सिनेमा ‘रिमै’ को ट्रेलर सार्वजनिक भएको छ। यो ट्रेलरले ग्रामीण जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रष्ट्याएको छ। करिब साढे तीन मिनेट लामो यो ट्रेलरमा अभिनेता दयाहाङ राईलाई गाउँले परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको द्वन्द्वसँग जुधिरहेका छन्।

ट्रेलरमा रिश्मा गुरुङ सँगको दयाहाङको केमिस्ट्रीले दर्शकलाई भावनात्मक रूपमा जोड्छ भने अर्पण थापा र गौमाया गुरुङ को भूमिकाले कथालाई थप रोचक बनाएको छ।

निर्देशक गुरुङले ‘रिमै’ मा परम्परा र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत दिएका छन्। सिनेमाको संवाद, छायांकन र ब्याकग्राउन्ड म्युजिकले दर्शकलाई गाउँले परिवेशमा तान्ने प्रयास गरेको छ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स प्रा.लि. को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस सिनेमामा दयाहाङ, अर्पण, रिश्मा, गौमाया, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने यसलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्।

वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता रहेका छन्। यसैगरी, बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक र मित्र डि गुरुङको सम्पादन रहेको छ।