काठमाडौं – भाद्र दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको नेपाली सिनेमा ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ।
पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा भएको यो वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत लगायतका कलाकारहरूको सहभागिता थियो।
कार्यशालाको क्रममा अभिनेता विजय बरालले सिनेमाले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बताए। उनले भने, “दर्शकले आफ्नो कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन्।” अभिनेत्री वर्षा राउतले पनि आफूलाई पात्रमा ढाल्न वर्कसपले सहयोग गरेको बताइन्।
प्रकु पाण्डेयले निर्देशन गर्ने यस सिनेमाको कथा पनि उनैले लेखेका हुन्। यसको छायांकन तनहुँ र स्याङ्जाका विभिन्न स्थानमा हुनेछ।
रानी म्युजिक इन्टरनेशनल र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको यो सिनेमाका निर्माता गायक रामकृष्ण ढकाल हुन्। निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ एउटा पारिवारिक प्रेमकथामा आधारित सिनेमा हो।















