Sur Cinema

‘१२ गाउँ २’ ट्रेलर : विराज–समीरको टकरावले बढायो  उत्सुकता

काठमाडौं : विराज भट्टको निर्देशनमा बनेको सिनेमा ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ट्रेलरमा विराज भट्ट र समीर भट्टको टकराव, एक्सन, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ ।

ट्रेलरमा अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत छन् । एक्सनसँगै प्रेम र पारिवारिक सम्बन्धलाई समेत समेटिएको सिनेमामा समीर भट्ट र कृशु शाहीको प्रेमकथाका झलक पनि छन् । सिनेमामा प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट र वर्षा इटनीलगायत कलाकारको अभिनय छ ।

विराज भट्ट निर्देशित सिनेमाको कथा तथा पटकथा सन्तोष सरकारको हो । महेश पौडेलको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा युग भुसाल र डीपी खनालको संगीत रहेको सिनेमामा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन छ ।

दशैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउने ‘१२ गाउँ २’लाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुबेर डिष्ट्रिब्युसनले वितरण गर्नेछ ।