Sur Cinema

‘म भईन भने’को २४ घण्टामै तहल्का, ‘बेहुली’प्रति बढ्यो दर्शकको उत्साह

काठमाडौं : आगामी भदौ २६ गते प्रदर्शनमा आउने सिनेमा ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ले रिलिजको २४ घण्टामै डिजिटल प्लेटफर्ममा तहल्का मच्चाएको छ।

रोमान्टिक गीतले २४ घण्टामै युट्युबमा ४ लाखभन्दा बढी भ्युज र टिकटकमा २० हजारभन्दा बढी भिडियो पाउँदै सिनेमाको पहिलो गीत ‘दिलमा ठाउँ छ’को सुरुवाती रेकर्डसमेत उछिनेको छ। ‘दिलमा ठाउँ छ’ले यही अवधिमा १० हजार भिडियो पाएको थियो भने हालसम्म युट्युबमा करिब १ करोड भ्युज बटुलिसकेको छ।

अर्जुन पोखरेलको शब्द तथा संगीतमा सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको ‘म भईन भने’को भिडियो दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो। भिडियोमा पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको रोमान्टिक जोडी प्रस्तुत गरिएको छ, जसको केमिष्ट्रीलाई दर्शकले रुचाएका छन्।

सशान कँडेल निर्देशित तथा माधव शर्मा लिखित ‘बेहुली’मा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

गीतले पाएको अप्रत्याशित डिजिटल प्रतिक्रियाले प्रदर्शनअघि नै ‘बेहुली’प्रतिको दर्शक उत्सुकता थप बढाएको देखिन्छ।