Sur Cinema

अमेरिकाबाटै धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल, ‘म त मर्छु कि क्या हो’ आउँदै

काठमाडौं : चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन्। नर्थ क्यारोलाइनाको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलमा धुर्मुस–सुन्तली आफ्नै चर्चित पात्रमा देखिनेछन्।

सीतारामकै निर्देशनमा बनेको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्रसहित दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, धर्म भारतीलगायत कलाकारको अभिनय छ। यसै सिरियलमार्फत सीताराम–कुञ्जनाकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा डेब्यु गरेकी छन्।

सिरियलमा अमेरिकामा रहेका नेपालीको संघर्ष, सफलता, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच, भाषा–संस्कृति र नेपालीपन जोगाउने प्रयासलाई हास्यव्यंग्यमार्फत प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

‘म त मर्छु कि क्या हो’ हरेक शुक्रबार नेपाली समय साँझ ८ः१५ बजे धुर्मुस सुन्तलीको युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। अमेरिकामा भने शुक्रबार बिहान १०ः३० बजे हेर्न सकिनेछ।

अमेरिकामा रहेर पनि कला सिर्जनालाई निरन्तरता दिने उद्देश्यले सिरियल निर्माण गरिएको निर्देशक सीताराम कट्टेलले बताएका छन्।