काठमाडौं : भदौ २६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। रोमान्टिक भावको गीतमा सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको छ।
अर्जुन पोखरेलको शब्द तथा संगीत र उदय राज पौडेलको एरेन्ज रहेको गीतको भिडियो दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो। भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीको रोमान्टिक अवतार देख्न सकिन्छ।
उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोले प्रेमभावलाई आकर्षक दृश्यमार्फत प्रस्तुत गरेको छ।

सशान कँडेल निर्देशित तथा माधव शर्मा लिखित सिनेमामा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ।
यसअघि सार्वजनिक ‘दिलमा ठाउँ छ’ गीतले युट्युबमा १ करोड भ्यूज नजिकिँदै गर्दा निर्माण टोलीले ‘म भईन भने’ सार्वजनिक गरेको हो। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


















