काठमाडौं : सिनेमा ‘पाँच पाण्डव’को स्वरांकन सुरु भएको छ । म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा सिनेमाको स्वरांकन थालिएको हो ।
तिहारमा प्रदर्शन हुने सिनेमाको स्वरांकन मुख्य कलाकार हरिवंश आचार्यले सुरुवात गरेका हुन् । निर्देशक वसन्त निरौलाका अनुसार सिनेमाको सम्पूर्ण पोस्ट–प्रोडक्सन तथा साउन्डको काम डल्बी एट्मस प्रविधिमा गरिँदैछ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सिनेमामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलासहित दिग्गज तथा नयाँ पुस्ताका कलाकारको अभिनय छ ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमालाई ‘सोसल ड्रामा’ भनिएको छ । महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको निर्देशक पक्षले जनाएको छ ।
झापा र काठमाडौंमा छायांकन गरिएको सिनेमालाई श्याम तामाङले खिचेका हुन् । सुप्रिम पराजुलीको सम्पादन, अर्जुन पोखरेलको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गर्नेछन् ।


















